काठमाडौं । नेपालमा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप दिइने भएको छ । असार पहिलो साता देखि कोभिडविरुद्धको खोप लगाउने तयारी सरकारले गरेको हो । जेठभरमा खोप नेपाल ल्याउने र त्यसपछि लगाउने तयारी मन्त्रालयले गरेको हो । फाइजर पेडियाट्रिक खोप नेपाल आउने भएको छ । ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गर्ने तयारी छ ।
पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिने मन्त्रालयको तयारी छ । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ ।
सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा प्रदेश नं.१ बाट झापा, मोरङ, सुनसरी, मधेश प्रदेशबाट सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशबाट काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लामा खोप बाड्ने भएको छ । लुम्बिनी प्रदेशबाट पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशबाट सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट कैलाली, कञ्चनपुर र डडेलल्धुरामा खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।