नयाँ दिल्ली । भारतमा छोटो निश्चित अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ सरकारी योजनाको विरोधमा देशव्यापी प्रदर्शन जारी छ । खासगरी उत्तर प्रदेश र विहार राज्यमा चर्को विरोध प्रदर्शनहरू भएका छन् । जहाँ प्रदर्शनकारीले रेलमा आगजनी गर्नुका साथै मुख्य राजमार्गमा बन्द गराइदिएका छन् । उनीहरूले उक्त योजना फिर्ता हुनु पर्ने माग गरेका छन्। समाचारहरूका अनुसार तेलङ्गाना राज्यको दक्षिणी शहर सिकन्दराबादमा समेत हिंस्रक प्रदर्शनहरू भएका छन् जहाँ युवाहरूले स्थानीय रेल स्टेसनमा जबरजस्ती प्रवेश गरेर रेल र पसलहरूमा क्षति पुर्याएका छन्।
मङ्गलवार सार्वजनिक गरिएको अग्निपथ कार्यक्रमले साढे १७ देखि २१ वर्षबिचका व्यक्तिहरूलाई लक्षित गरेको छ। सफल आकाङ्क्षीहरू चार वर्षका लागि सेनामा भर्ती हुनेछन् र त्यसपछि २५ प्रतिशतले मात्र सेवा जारी राख्न पाउनेछन्। प्रदर्शनकारीहरूलाई शान्त पार्ने प्रयास स्वरूप सङ्घीय सरकारले बिहीवार अबेर यो वर्षका लागि मात्र भनेर २३ वर्षसम्मले पनि यस कार्यक्रम अन्तर्गत रहेर आवेदन दिन पाउने जनाएको छ। कोभिड महामारी सुरु भएदेखि सेनामा भर्ती रोकिएका छन् र दशौँ लाख आकाङ्क्षीहरूमा सेनामा जागीर खान पाइने उमेर हद यसै नाघ्ने हो की भनेर निराशा छाएको छ। यस्तो सुधारिएको भर्ती योजना सेनाको बढ्दो खर्च कटौती गर्ने उद्देश्यबाट प्रेरित छ।
बढिरहेको तलब र निवृत्तीभरणमा सेनाको आधा जसो बजेट खर्च हुन्छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले मङ्गलवार अग्निपथ योजना सार्वजनिक गरेका हुन् ।
नयाँ योजनाले सेनाको आधुनिकीकरण गर्नलाई रकमको चाप कम गर्ने ठानिएको छ। सरकारले यसले सेनालाई युवामय बनाउने समेत बताएको छ।
तर सेनामा जान खोजिरहेकाहरूले यस योजनाले रोजगारी र अवसरहरू सिर्जना गर्ने मामिलामा निकै कम योगदान दिने जनाएको छ। केही वरिष्ठ सैन्य जेनरल र रक्षा विज्ञहरूले समेत उक्त कार्यक्रमको आलोचना गर्दै त्यसले सेनाको संरचनालाई कमजोर बनाउन सक्ने एवं राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै सजग गराएका छन्।
संसारमा धेरै सशस्त्र सैनिकहरू हुनेमध्येको देशमा भारत पर्छ। १४ लाख जवान काम गर्ने भारतीय सेना देशको एउटा मुख्य रोजगारदाता समेत हो जसका लागि वर्षेनी दशौँ लाखले आवेदन दिन्छन्। वर्षेनी झण्डै ६० हजार जना सैनिक सेवाबाट बाहिरिन्छन् र ती स्थान पूर्ति गर्न सयवटा सम्म भर्ती योजनाहरू सञ्चालन हुन्छन्। अग्निपथ अन्तर्गत ४६ हजार सैनिकहरू यो वर्ष भर्ती हुनेछन्। तिनीहरू ६ महिनाका लागि तालिममा जानेछन् र बाँकी साढे तीन वर्ष सेवामा तैनाथ हुनेछन्। त्यस अवधिमा उनीहरूले मासिक तलब ३० हजार भारतीय रूपैयाँबाट सुरु भएर थप लाभहरू जोडिन आउँदा चारवर्षे सेवाको अन्त्यमा ४० हजार भारतीय रुपैयाँसम्म बुझ्नेछन्।
बीबीसी