आइतबारबाट माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन, कमजोरीको आत्मसमिक्षा गर्ने प्रचण्डको भनाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबारबाट काठमाडौंमा शुरु हुने छ । सिद्धान्नतः महाधिवेशन भन्न मिल्ने यो सम्मेलनबाट माओवादी केन्द्रले आगामी कार्यदिशा तय गर्नेछ । तर, नेतृत्वमा भने ठूलो फेरबदलको सम्भावना छैन । राष्ट्रिय सम्मेलनको पूर्वसुन्ध्यामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा हुने बताएका छन् ।

यसको शुरुवात आफुबाटै गरेको उनको भनाई छ । पार्टीको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । सोही दस्तावेजबाटै गल्तीहरुको समिक्षा गरिने उनले बताए ।

प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनको एकता घोषणा कार्यक्रममा शनिबार उनले जनयुद्धदेखि हालसम्म पार्टीले धेरै टुटफुट व्यहोरेको भन्दै यो स्थिति किन आयो भन्ने विषयमा मूल नेतृत्वबाट आत्मसमीक्षा गरिने उल्लेख गरे । यसले सबैलाई एक ठाउँमा आउने स्थिति बन्ने उनको भनाई छ ।

शनिबार नै सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले एमालले निरन्तर संसद अवरुद्ध गरेर वतर्मान संसदलाई असफल बनाउन खोजिरहेको बताए । यसका लागि ओलीको घरमै पुगेर छलफल गर्न आफुले प्रधानमन्त्रीसँग आग्रह गरेको समेत उनले जानकारी दिए ।