आइपीएल : चम्किए कोहली- आरसीबीको जित

काठमाडौं । विराट कोहली चम्किएपछि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले इन्डियन प्रिमियर लिगमा पहिलो जित निकालेको छ । सोमबार राति भएको आफ्नो दोस्रो खेलमा आरसीबीले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १७७ रनको विजयी लक्ष्य आरसीबीले कोहलीको ७७ रनको मद्दतमा १९.२ ओभरमा ६ विकेटमा भेटायो । आरसीबीका दिनेश कार्तिकले नटआउट २८, महिपाल लोमरोरले नटआउट १७ रन बनाउँदा रजत पटिदारले १८ र अनुज रावतले ११ रनमा आउट भए ।

पञ्जाबका कागिसो राबाडा र हरप्रित ब्रारले २–२ तथा साम करन र हर्षल पटेलले एक–एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ६ विकेट गुमाएर पूरै २० ओभर खेल्दै १७६ रन बनाएको थियो । शिखर धवनले ४५, जितेश शर्माले २७, प्रभसिमरन सिंहले २५ र साम करनले २३, शशांक सिंहले नटआउट २१ रन बनाए । आरसीबीका मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।
पहिलो खेलमा भने आरसीबी चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो भने पञ्जाबले दिल्लीलाई पराजित गरेको थियो ।