मुम्बई । जारी १४ औं संस्करणको आइपीएलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंलौंर विजयी भएका छन् । दिल्लीले दोस्रो जित दर्ता गर्ने क्रममा पञ्जाब किंग्सलाई ६ विकेटले हराएको छ । शिखर धवनको उत्कृष्ट ब्याटिङको सहायतामा दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभरमा ४ विकेट गुमाउँदै भेटायो । धवनले ४९ बलमा सर्वाधिक ९२ रनको योगदान गरे ।
मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९५ रनको विशाल योगफल खडा गरेको थियो । तर, बलिङ कसिलो नहुँदा टीम हारेको छ । पहिलो विकेटका लागि मायांक अग्रवाल र कप्तान लोकेश राहुलबीच १२.४ ओभरमा १२२ रनको साझेदारी हुँदा टीमको जग बलियो बनेको थियो । अग्रवालले सर्वाधिक ६९ रन जोडे । राहुलले ६१ रन बनाए ।
उता, ग्लेन म्याक्सवेल र एबी डे भिलियर्स चम्किएको खेलमा रोयल च्यालेन्जर्स बैलौंर विजयी भएको छ । आइतबार सम्पन्न खेलमा बैंलौंरले कोलकता नाइट राइडर्सलाई ३८ रनले हराएको हो । चेन्नईमा बेंगलोरले दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६६ रन मात्र बनायो ।
कोलकताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रनको योगदान गरे । टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योग खडा गरेको थियो । बैंलौरका लागि म्याक्सवेलले ४९ बलमा ७८ रन जोडे । एबी डे भिलियर्सले ३४ बलमा अविजित ७६ रन बनाए ।