आइपीएल भिडन्त आजबाट

काठमाडौं । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा चेन्नई र बेंगलुरु भिड्दैछन् । चेन्नई डिफेन्डिङ च्याम्पियन हो । धोनीले चेन्नईको नेतृत्व छोडेका छन् । तर खेलाडीका रूपमा भने सहभागी हुनेछन् । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा समेत यस पटक खेलाडीका रुपमा मुम्बई इन्डियन्सबाट खेल्नेछन् । उनले नेतृत्वको जिम्मेवारी हार्दिक पान्ड्येलाई दिएका छन् । मुम्बई पनि पाँचपल्टको विजेता हो । सन् २०२२ मा गुजरात टाइटन्सबाट खेलेका हार्दिकले त्यही वर्ष आफ्नो टिमलाई उपाधि दिलाए । पछिल्लो सिजन भने गुजरात उपविजेता रह्यो ।

यसपल्ट उनी मुम्बई फर्केका छन् । मुम्बईले जतिपल्ट आईपीएलको उपाधि जितेको छ, सबैमा कप्तान शर्मा नै थिए । मुम्बईमा ११ वर्षयता पहिलो पटक नेतृत्व परिवर्तन भएको छ । हार्दिकको स्थानमा अब गुजरातको नेतृत्व शुभमन गिलले सम्हाल्नेछन् । अर्कोतर्फ ऋषभ पन्तलाई फेरि माथिल्लो स्तरको क्रिकेट खेल्न सक्षम भएको घोषणा गरिएको छ । सन् २०२२ को अन्त्यमा गाडी दुर्घटनामा परेयता उनले क्रिकेट खेलेका छैनन् ।

राजस्थान रोयल्सको इनिङ्स सुरुआत गर्ने जिम्मा जस बटलरसँगै २२ वर्षीय यशस्वी जयसवालको काँधमा हुनेछ । जयसवालले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजमा कीर्तिमान ७ सय १२ रन बनाएका थिए । गत डिसेम्बरमा भएको खेलाडी लिलामीमा अस्ट्रेलियाली बलरद्वय मिचेल स्टार्क र प्याट कमिन्स सबैभन्दा महँगा खेलाडी साबित भएका थिए । सन् २०१५ यता स्टार्क पहिलो पटक आईपीएल खेल्दै छन् । त्यतिबेला भने उनले रोयल च्यालेन्जर्स टिमका लागि खेलेका थिए ।