आईसीसी क्रिकेट विश्वकप लिगमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । प्रतियोगिता नामिबियामा चलिरहेको छ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ । नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि दुबै टीमले अंक बाँडेका थिए । स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै नामिबियालाई हराएको छ ।

नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग टु खेलिरहेको छ । पहिलो खेलमा नेपालले आफ्नो इनिङ्स पूरै ब्याटिङ गर्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए पनि अन्य खेलाडी चल्न सकेका थिएनन् । आज नेपालले त्यसमा सुधार ल्याउनु पर्ने आवश्यकता छ ।