काठमाडौं । आकस्मिक उपचारका लागि आउने बिरामीलाई अब कुनै पनि अस्पतालले फिर्ता पठाउन पाउने छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अब कुनै पनि अस्पतालले आकस्मिक सेवाका बिरामीलाई फिर्ता पठाउन नपाइने निर्णय गरेको हो । त्यसो गरेको पाइए कडा कारवाही हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास कोइरालाले जानकारी दिए ।
उनका अनुसार सरकारले कोरोना विशेष अस्पताल तोकेका बाहेक अन्य सबै अस्पतालले आकस्मिक उचारका लागि बिरामी फिर्ता पठाउन पाउने छैनन् ।
हरेक अस्पतालले संक्रमणकालिन अवस्थामा सोही बमोजिमक काम गर्नु पर्ने भन्दै आफ्नो दायित्वबाट पर नसर्न सरकारले आग्रह गरेको छ ।
निर्देशन नमाने अस्पतालहरुमाथि कडा रुपमा सरकार उत्रन सक्ने समेत उल्लेख गरिएको छ ।
यसअघि देशका विभिन्न स्थानबाट नियमित बिरामीलाई अस्पतालले फिर्ता पठाएको, गेटबाटै छिर्न नदिएको जस्ता गुनासो आइरहेको छ । यसलाई सम्बोधन गर्दै सरकारले सबै अस्पतालले उपचार गर्नुपर्ने बताएको छ ।