काठमाडौं । नेपालमा आगामी तीन दिन मनसुनी वायुको प्रभावले ठूलो वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षा हुने छ । मौसम पूर्वानुमान महाशाखाले यस अवधिमा सचेत रहन भनेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
पहाडी भू भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत विभागले अनुरोध गरेको छ ।
आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।