आगामी रणनीति तय गर्न प्रधानमन्त्रीले बोलाए स्थायी कमिटि बैठक

काठमाडौं । सर्वोच्च अदालतले आफ्नो निर्णय उल्टाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आगामी रणनीति निर्माणमा जुटेका छन् । सोही क्रममा उनले आज आफ्नो समूहको स्थायी कमिटी बैठक डाकेका छन् । ५ पुसमा प्रतिनिधिसभा विघटन गरी उनले मध्यावधी निर्वाचनमा जाने निर्णय लिएका थिए । यो निर्णयलाई राष्ट्रपति विद्यादेवि भण्डारीले तत्काल सदर गरेकी थिइन । यी दुबै कदम असंवैधानिक भएको सर्वोच्च अदालतले फैसला गरेको छ ।

संसद विघटन रद्द भएपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने छ ।

प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने र संसदको सामना गर्ने जानकारी उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार नै दिएका छन् । यद्दपी उनीमाथि राजिनामाको चौतर्फी दवाव भने छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चबाट संसद विघटन रद्द भए नैतिक रुपमा प्रधानमन्त्री कुर्सीमा बस्न नमिल्ने भनी बताएको भिडियो समेत यतिबेला सार्वजनिक रुपमा चर्चामा छ ।