आजदेखि गाइजात्रा शुरु, कहाँ कहाँ मनाइन्छ ?

काठमाडौं । आजदेखि गाइजात्रा पर्व प्रारम्भ भएको छ । खासगरी काठमाडौं उपत्यकामा धुमधामसँग मनाइने यो पर्व अहिले देशका अधिकांश शहरमा बिस्तार भइसकेको छ ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म गाइजात्रा मनाउने परम्परा रहेको छ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा यो पर्व मनाइन्छ ।

गाई वा मानिस गाईका रूपमा सिँगारेर परिक्रमा गराउने अनौठो प्रचलनका कारण यो जात्रा प्रख्यात रहेको छ । श्रद्धालुले गाईलाई दूध, फलफूल, रोटी, चिउरा, द्रब्यजस्ता वस्तु दान गर्छन् ।

गाईलाई नगर परिपक्रममा गराउँदा दिवंगत व्यक्ति सजिलै वैतरणी पार हुने विश्वास लिइन्छ । यो जात्रा राज प्रताप मल्लाको पालादेखि शुरु भएको हो ।

यस पर्वलाई सामाजिक विकृति र विसंगतीविरुद्ध आवाज उठाउन पाइने स्वतन्त्रताका रुपमा पनि लिने गरिन्छ ।

काठमाडौं, पाटन काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, संखुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा, मकवानपुर, कास्की, पाल्पाजस्ता जिल्लामा यो पर्व धुमधाम साथ मनाइन्छ ।

खासगरी नेवार समूदायको बाहुल्य रहेका क्षेत्रमा यो पर्व बढी महत्वका साथ मनाइन्छ ।