आजबाट अवैध रुपमा भित्रने मोवाइल नेपालमा नचल्ने, विदेशबाट ल्याए दर्ता गर्नुपर्ने

काठमाडौं । आजबाट नेपालमा अवैध रुपमा भित्रने मोवाइल फोन सेट नचल्ने प्रणाली कार्यान्वयनमा आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको हो । यो सिस्टम कार्यान्वयनमा आएसँगै बिहीबारसम्म आएका सबै सेट भने संचालनमा आउने छन् । प्राधिकरणका अनुसार देशभर यो प्रणालीले पूर्ण रुपमा काम गर्न सक्ने छैन । तर, शुरुवात गरिएका कारण क्रमशः देशव्यापी बनाइने छ ।

कर प्रणाली छलेर भित्रिएका, नक्कल गरिएका र चोरीका मोबाइल अब दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने गरि यो प्रणालीले काम गर्नेछ । प्राधिकरणका अनुसार सफ्टवेयरले वैध मोबाइललाई ह्वाइट लिस्ट र अवैधलाई कालोसूचीमा राखिने छ । एमडिएमएसको सफ्टवेयरलाई जीएसएमएको प्रणालीमा ‘लिङ्क’ गरि हेर्नासाथ मोवाइल बैध वा अबैध के हो भन्ने पत्ता लाग्छ । दर्ता नभएका मोबाइल सेट कालोसूचिमा पर्छन् । भन्सार विभागले अब नेपाल भित्रने सबै मोवाइललाई दर्ता गर्नेछ ।

भन्सार र सेवाप्रदायको पहुँचमा एमडिएमएस भएपछि सहजै अवैध मोबाइल, ब्ल्याक लिस्ट अथवा ह्वाइट लिस्टमा राख्ने काम हुने प्राधिकरणको भनाई छ । बिहीबारसम्म चलिरहेका बैध तथा अबैध सबै मोवाइल सेट भने यथावत चल्छन् । विदेशमा रहेका नेपालीले आफन्तलाई मोबाइल पठाएमा त्यसलाई दर्ता गर्नुपर्छ । त्यसपछि चलाउन पाइन्छ । पहिले नै नेपाल आइसकेका फोन भने बन्द हुने छैनन् । उनीहरुले पनि फोन दर्ता भने गराउनु पर्नेछ । यो प्रणालीले खासगरी भन्सारबाट भित्रने अवैध मोवाइलको व्यापार बन्द हुनेछ ।