आजबाट देशभर ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम, २७ लाख बालबालिकालाई खुवाइने

काठमाडौं । आजबाट देशरभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शुरु हुने भएको छ । ७५३ वटा पालिकाबाट मंगलबार र बुधबार भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अभियानका दौरान देशभर २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने भएको छ । ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउने गरि व्यवस्थापन मिलाइएको छ । भिटामिन ‘ए’ खुवाउनको लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएको छ ।