काठमाडौं । ४ मंसिरमा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आजबाट प्रचार गर्न पाइने भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न सक्छन् । चुनाव प्रचारका लागि दलका शीर्ष नेताहरु देश दौडाहामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा पुगेका छन् । उनले सरकारी स्रोतसाधन दुरुपयोग नगर्ने गरी चुनाव प्रचार गर्न अनुमति पाएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् । ओलीले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका हुन् । निर्वाचन आचारसंहितामा मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ । हेलिकोप्टर प्रयोग पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहेर गर्नुपर्ने हुन्छ । आम सभासहितको चुनाव प्रचार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र गर्न पाइन्छ । उम्मेदवारहरुले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख भएका बाहेक अन्य आश्वासन, प्रलोभन दिनसमेत पाउने छैनन् ।