आजबाट नेपालमा कोरोना खोप अभियान शुरु, गम्भीर असर गरे सरकार जिम्मेवार नहुने

काठमाडौं । नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान प्रारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बावुवाटारबाट भच्र्यूअल रुपमा अभियानको थालनी गर्नेछन् । तर, उनले खोप भने लगाउने छैनन् । संसारमा धेरैजसो मुलुकमा सरकार प्रमुखले खोप लगाएर अभियान थालेका थिए ।

यसले जनतामा आत्मविश्वास बढाउँछ । नेपालमा भने खोप लगाउनु अगाडी नै यसले गम्भीर असर गरेमा सरकार जिम्मेवार नहुने व्यहोराको शर्तनामामा हस्ताक्षर गर्नुपर्ने भएको छ । नेपालमा कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने भएको छ ।

काठमाडौंमा एक दर्जन अस्पतालमा खोप लगाइने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीमा आज स्वास्थ्यकर्मीका लागि खोप दिइने भएको छ ।


भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा लगाइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या भए, अंगभंग भए या मृत्यु भएमा खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिने छैन ।

खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने भने बताइएको छ । यो खोप १८ वर्षमाथिका सबैले लगाउन मिल्छ ।

कोरोसँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीले भने खोप लगाउनु हुँदैन । पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन ।