आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं । आजबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबैले क्वारेन्टाइनमा बस्नुपर्छ ।

अध्यागमन विभागले यसअघि नै यसको सूचना जारी गरिसकेको छ । १५ मार्चदेखि ३० अप्रिलसम्म नेपाल आउने स्वदेशी, विदेशी तथा गैरआवासीय नेपाली सबैले क्वारेन्टाइनमा बस्नु पर्ने भएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरिएको हो ।

अब त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल झर्ना साथ क्वारेन्टाइनमा बस्नका लागि एक फारम भर्नुपर्छ । विभागका अनुसार नेपाली नागरिकलाई घरमा नै क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । विदेशी नागरिकले क्वारेन्टाइनमा बस्ने स्थानको व्यवस्था स्वयमले मिलाउनु पर्छ ।

क्वारेन्टानमा बसे वा नबसेको अनुगमन हुनेछ । नेपालमा तेस्रो मुलुकबाट आउने नागरिकको अनअराइभल भिसा बन्द गरिएको छ ।

उनीहरुले दूतावासमा गएर निरोगिताको प्रमाणपत्र देखाएमात्र नेपाल आउन पाँछन् । त्यसरी आएकालाई समेत क्वारेन्टाइनमा राख्न लागिएको हो ।

त्यसो त तेस्रो मुलुकका नागरिकले अब नेपाल आउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्र प्रयोग गर्न पाउँछन् ।

आफैंले आफैंलाई अन्य मानिसहरूको सम्पर्कबाट पर राखी संक्रमणबाट जोगिने प्रक्रिया सेल्फ क्वारेन्टाइन हो ।

यसलाई चिकित्सकीय उपचारमा जानु भन्दा पनि सचेतनाको एक प्रक्रिया मानिन्छ । रोग लागेको भेटिएमा मात्र अस्पतालमा जानुपर्छ । क्वारेन्टाइनमा बसको अवधीमा समेत स्वास्थ्य जाँच भने गराउनु पर्छ ।