काठमाडौं । सरकारले आजबाट सवारी साधनको जाँजपासमा कडाई गर्दैछ । प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुनेछ । वातावरण विभागले गएको मंसिर २२ गते सूचना निकालेर प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई पुस १ गते अर्थात् आजदेखि जरिबाना गर्ने बताइसकेको छ । जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तीर्ण हुने गाडीलाई जरिबाना गरिने भएको छ ।
वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मापदण्ड भन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाही गर्न लागेको छ । वातावरण संरक्षण ऐन–२०७६ को दफा ४१ उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना हुने र गाडी मर्मत गरी प्रदूषण जाँचपास गराएर मात्र सञ्चालनमा ल्याउन पाइने प्रावधान छ ।