आजबाट सांसद र कर्मचारीलाई कोरोना खोप दिइने

काठमाडौं । आजबाट संघीय संसदका सांसद तथा संसद सचिवालयका कर्मचारीलाईखोप लगाइने भएको छ । संसद सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम राखिएको छ । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइने भएको छ ।

सभामुख र अध्यक्ष नेपालमा खोप लगाउने उच्च तहका व्यक्ति हुनेछन् । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारलाई समेत खोप लगाउने कार्यतालिका राखिएको छ ।

संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायत सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई २० गते बिहीबार खोप लगाउने कार्यक्रम तय भएको छ । २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र बुधबार र बिहीबार लगाउन छुटेकालाई खोप लगाइने संसद सचिवालयको सूचनामा उल्लेख छ ।