काठमाडौं । नेपालमा आजबाट १२ वर्षमाथिका दीर्घ रोगीका लागि कोभिड १९ विरुद्धको फाइजर खोप वितरण गरिने भएको छ । यो खोप सरकारले अमेरिकाबाट खरीद गरेको हो । १२ वर्षमाथिका आठ प्रकारका दीर्घरोग भएका व्यक्तिले यो खोप पाउने भएका छन् ।
लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका, लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि खाइरहेका, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका, लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका, अङ्ग प्रत्यारोपण गरेका, लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ डाक्टरको निगरानीमा उपचार गराइरहेका र कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्तिले यो खोप लगाउन सक्ने छन् ।
साथै मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्तिलाई समेत फाइजरको खोप दिइने भएको छ । कोभिड १९ विरुद्धको अन्य कुनै खोप लगाएका व्यक्ति र १२ वर्ष भन्दा कम उमेरका दीर्घ रोगीले भने यो खोप लगाउन मिल्दैन । खोप मंसिर चार गतेसम्म चल्नेछ । खोप लगाउन सरकारले देशभर २४ वटा अस्पताल तोकेको समेत जनाएको छ ।
यस अघि कोभिड विरुद्धको खोप लगाएका खोप केन्द्रमा यसपालि फाइजर खोप लगाउन पाइने छैन । खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ । खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म लगाउन सकिने छ ।
