काठमाडौँ । आज संसारभर अन्तराष्ट्रिय योग दिवस मनाइन्छ । जुन महिनाको २१ औँ तारिखका दिन संयुक्त राष्ट्रसंघले योग दिवस घोषणा गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए ।
प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले समर्थन गरेका थिए । प्रस्तावलाई अहिले विश्वका अधिकांश मुलुकको समर्थन प्राप्त भइसकेको छ । योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले कार्यक्रम आयोजना गरिरहेको छन् । यस वर्ष प्रत्यक्ष भेटघाटको साटो प्रविधिका माध्यमबाट सबैले घर घरमा योगा गरी यो दिवस मनाउँदैछन् ।
योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्तिलगायत सकारात्मक गुणको विकास हुने यसका अभियन्ताहरु बताउँछन् । यस वर्ष ‘घरघरमा योग, परिवारका साथमा योग’ भन्ने राखिएको छ ।