काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत आज बाँकी रहेका प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने भएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका स्थानमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो। अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुन्ने कार्यक्रम छ ।
यसै अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि समेत छानिनेछन् । कांग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँन पाउने प्रावधान रहेको छ । महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्यको निर्वाचन गरिन्छ । बहालवाला केन्द्रीय सदस्य तथा पदाधिकारी भने महाधिवेशनबाट आइराख्नु पर्दैन । उनीहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन् ।
वैकल्पिक केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि चुनिएर आउनुपर्छ । कांग्रेसले यसअघि १४ जिल्लामा जिल्ला अधिवेशन गरिसकेको छ। यी जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भई कार्यसमिति र प्रतिनिधि पनि चुनिइसकेका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिकाअनुसार सोमबार ६० जिल्लाका १४८ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन हुनेछ ।