काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी तापक्रम रेकर्ड भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन भएको छ । आजको अधिकतम तापक्रम यो वर्षकै सबैभन्दा धेरै हो । जेठ १७ गते काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो।
काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम विस २०४६ वैशाख २५ मा ३६.६ डिग्री सेल्सियस मापन भएको रेकर्ड छ । पूर्वी भूभागसम्म आएको मनसुन नफैलिएका कारण काठमाडौं लगायत पश्चिमी भूभागहरूमा तापक्रम बढेको छ । शनिबार लुम्बिनी र सुदूरपश्चिमका तराईका थुप्रै भूभागहरूमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ।
दिपायलमा ४२ डिग्री सेल्सियस, वीरेन्द्रनगरमा ४०.६ डिग्री सेल्सियस, धनगढीमा ४२.७ डिग्री सेल्सियस, नेपालगन्जमा ४२.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ। तापक्रम ४० भन्दा बढी रहेका पश्चिम तराईका भूभागहरुमा मौसम पूर्वानुमान महाशाखाले तातो हावाको चेतावनी दिएको छ। यी स्थानहरूमा भोलि पनि तापक्रम उच्च नै रहने छ । काठमाडौंमा भने भोलिदेखि तापक्रम केही घट्न सक्ने बताएको छ ।