काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थान बाहेक अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका पछिल्लो २४ घण्टामा कोशी प्रदेशको ताप्लेजुङमा भारी वर्षा भएको छ ।
ताप्लेजुङको दोभान स्टेसनमा मात्र ५५.२ मिलिमिटर र ताप्लेजुङ स्टेसनमा ५१ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । आज पनि कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्य स्थानमा भारी वर्षाको सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
जुन १४ तारिखमा नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा बढी सक्रिय छ । त्यसैले त्यहाँको वर्षा, बाढी र पहिरोले मानवीय क्षतिसमेत पुर्याएको छ । ताप्लेजुङको सिदिङ्वा–६ मेहेलेमा एकै परिवारका तीनसहित चार जना पहिरोमा परी बेपत्ता भएका छन् । सडक, पुल लगायतका संरचनामा क्षति पुगेको छ ।