आज क्रिसमस डे, क्रिश्चियन धर्मावलम्बीलाई बिदा

काठमाडौं । आज संसारभर क्रिसमस डे मनाइदैछ । यस दिनको उपलक्ष्यमा नेपालमा समेत क्रिश्चियन धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने प्रचलन रहेको छ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार छ ।

यसलाई क्रिश्चियन धर्मालम्बीले क्रिसमसका रुपमा धुमधाम साथ मनाउने गर्छन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मान्यता छ । येशुलाई जिसस क्राइस्ट समेत भनिन्छ ।

उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास रहेको छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले यस प्रकारका धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सदभाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

सरकारले आज क्रिश्चियन समुदायका लागि बिदा दिएको छ । आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने प्रचलन रहेको छ ।