काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको छ । पर्वको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।
नेवारी भाषामा ‘सापारु’ भनिने गाईजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । नेपाली संस्कृतिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतीकात्मक अर्थ बोकेको पर्व हो यो । मृत्युमा शोक मनाउनुपर्नेमा हास्यव्यङ्ग्य गर्ने अनौठो चलन चलिआएको छ ।
कसरी सुरू भयो ?
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको भनिने गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ ।
यद्यपि गाईजात्रा प्रताप मल्लको समयभन्दा अघि नै थालिएको तर्क गर्ने विद्वानहरू पनि छन् । प्रताप मल्लले कुनै पनि अभिलेखमा यो पर्व आफूले शुरू गरेको उल्लेख नगर्नु र गोपालराज वंशावलीमा पनि त्यस्तो उल्लेख नहुनुले यो पर्व कम्तीमा ६०० वर्ष पहिले नै शुरू भइसकेको विद्वानहरूको तर्क छ । ६०० वर्ष पहिले जयस्थिति मल्लको समयको गोपालराज वंशावली ९पत्र ६१० मा ‘साँ यात’ उल्लेख छ । यो भनेको ‘गाईको यात्रा’ हो । यसले गाईजात्रा जयस्थिति मल्लको समयभन्दा पनि पहिल्यै शुरू भएको पुष्टि गर्ने बताइन्छ ।
गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
गाईजात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा पनि धुमधामका साथ मनाइन्छ ।