काठमाडौं । आज नेपालमा गोरखा भूकम्पको छैटौं स्मृति दिवस मनाईंदै छ । छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । पुनः यो विपत्तीको सामना गर्नु नपरोस भन्ने कामनासहित आज छैटौं स्मृति दिवस मनाउन थालिएको हो ।
यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि विज्ञले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । २०७२ वैशाख १२ शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पमा परि आठ हजार ९७९ जनाको निधन भएको थियो २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो ।
तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको थियो । गोरखा भूकम्पले ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो ।
यसैगरी संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।
गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन् । छ वर्ष अवधिमा भूकम्पले भत्किएर आठ लाख ११ हजार ७५४ घरधनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन् ।
हालसम्म आठ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार बुझेका छन् । सात लाख चार हजार ४६७ लाभग्राहीले दोस्रो किस्तावापत रु एक लाख लिएका छन् । घर सम्पन्न गरेर छ लाख ३८ हजार ५४० लाभग्राहीले तेस्रो किस्ताको रु एक लाख ५० हजार लिएका छन् । चालु आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माणका मूलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।