आज दर खाने दिन, घर बाहिर जान भने नपाइने

काठमाडौं । आज तीजको दर खाने दिन । तीजको अघिल्लो दिन माइती आएका दिदीबहिनीलाई दाजुभाईले मिठो मसिनो पकाएर खुवाउने प्रचलन रहेको छ । हरितालिका तीजको दिन व्रत बस्ने महिलाले आज भने राती १२ बजेसम्म नै मिठा परिकार खाएर बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा रहेको छ ।

दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक हुन्छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ । कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने समेत गरिएको पाइन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

यस पालीको तीज शुक्रबार परेको छ । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन रोक लागेको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्नु पर्ने भएको छ । घरबाहिर जान नपाएपछि यो पटक तीज धेरैका लागि खल्लो हुनेछ । किनकी देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी रहेको छ ।