काठमाडौं । सरकारले आज स्वास्थ्य क्षेत्रमा महत्वकांक्षी योजना शुरु गर्दैछ । एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गरी सरकारले एकै पटक ठूलो क्षेत्रमा स्वास्थ्य सेवा बिस्तार गर्न लागेको हो । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पताल एकै डिजाइनका हुनेछन् । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य छ । अस्पताल निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिएको छ ।
अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ ।
सरकारले नीति तथा कार्यक्रम र बजेटबाटै यो योजना घोषणा गरेको थियो । अहिले कूल ७५३ स्थानीय तहहरुमध्ये १ सय ४ वटामात्र मात्रै विभिन्न स्तरका अस्पतालको सेवा पुगेको छ ।