काठमाडौं । सरकारले गरेको संसद विघटनको विरुद्धमा आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दैछ । कांग्रेसका १३ वटा भ्रातृ संस्थाले आज संसद बिघटनविरुद्ध संयुक्त विरोध प्रर्दशन गर्न लागेको बताइएको छ । भ्रातृ संस्थाहरुको संयुक्त आयोजनामा आज ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसको भनाई छ ।
संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मुद्दालाई अघि सारेर प्रदर्शन गर्न लागेको कांग्रेसको भनाई छ ।
नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघलगायतले संयुक्त प्रदर्शन गर्दैछ् । काठमाडौंमा भोटाहिटीबाट दिउँसो १ बजे विरोध प्रर्दशन शुरु हुने छ । कांग्रेसका सबै भातृ संगठनले आन्दोलनमा सरिक हुन आह्वान गरेका छन् । सरकारको विरोधमा कांग्रेसले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।