आज नेपाली सेना दिवस, राष्ट्रपति टुडिखेल जाने

काठमाडौं । नेपाली सेनाले आज सेना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । नेपाली सेनाले दुई दशकअघिदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिन्छ ।

यस पटक बेलायती सेनाको गोर्खा बिग्रेडबाटसमेत ब्यान्ड डिस्प्लेसहित गीतसङ्गीतको धुन प्रस्तुत गर्ने तयारी रहेको छ । जङ्गीअड्डा मातहत देशका विभिन्न भागमा तैनाथ कमाण्ड, बाहिनी, गण, गुल्मलगायत निकायमा आज विभिन्न कार्यक्रम गरेर सेना दिवस मनाइन्छ । नेपाली सेनाले पशुपतिनाथ मन्दिरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्ने गर्छ ।