काठमाडौं । आज प्रतिनिधसभा र प्रदेश सभाका लागि मतदान शुरु भएको छ । बिहान ७ बजेटबाट देशैभर एकै पटक मतदान शुरु भएको हो । मतदान केन्द्रमा पुरुष र महिलाको अलग अलग लाइनको व्यवस्था गरिएको छ । अपांग भएका व्यक्ति, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, लैंगिक अल्पसंख्यकका लागि छुट्टै व्यवस्था छ । देशभर १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र रहेका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगको तथ्यांक छ ।
प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० सिटका लागि प्रत्यक्षतर्फको चुनाव हुँदैछ । प्रतिनिधि सभाका ११० सिट र प्रदेशमा प्रत्येक प्रदेशका लागि त्यो प्रदेशसभाको कुल आकारको ४० प्रतिशत सिटका लागि समानुपातिक चुनाव हुँदैछ । चुनावको लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटिएका छन् । यस्तै नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी झण्डै ३ लाख सुरक्षाकर्मी खटिएका गृह मन्त्रालयले जनाएको छ ।