आज बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै

काठमाडौं । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज बस्दैछ । यो बैठक श्रीलङ्काले आयोजना गरेको हो । बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्दैछन् । बैठक अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको मन्त्रालयले जनाएको छ ।

बुधबार भर्चुअल रूपमै आजको बैठकबारे तयारी बैठक बसेको थियो । सो बैठकमा भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए । बैठकले बिहीबार भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तु तय गरेको छ ।


बुधबारको उच्चस्तरीय बैठकले सङ्गठनको विभिन्न सम्बन्धित विषयका बारेमा छलफल गर्दै मूल्य मान्यताको स्थापना, संस्थागत समृद्धि, बिमस्टेक अन्तर्गत सहयोगी क्षेत्र र त्यसलाई सुलभ बनाउने उपाय, बिमस्टेकको बडापत्र, बिमस्टेकको बृहत् योजनालगायतका कानुनी कागजातलाई अन्तिम रूप दिने कामलाई अगाडि बढाउन आवश्यक तयारी गरेको मन्त्रालयले जनाएको छ ।

सम्पर्क सञ्जालको गठन, बिमस्टेक सचिवालयका लागि सन् २०२० को आर्थिक बजेट तथा सन् २०२१ का लागि अनुमानित बजेटका विषयलगायतका बारेमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा १७औँ मन्त्रीस्तरीय बैठकको तयारीका बारेमा पनि बृहत् छलफल गरेको थियो ।


बुधबारको बैठकमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्चाधिकारीको सहभागिता रहेको थियो । बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड रहेका छन् ।