आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै

काठमाडौं । आज बृहत् नागरिक आन्दोलन अभियानले टुडिखेल प्रवेशको कार्यक्रम राखेको छ । आज प्रजान्तन्त्र दिवस, अर्कोतर्फ टुडिखेलमा सेनाको कब्जा, यसै परिस्थितिमा नागरिक आन्दोलनको अभियानले समेत कडा रुप लिने संकेत गरेको छ । अभियन्ताहरुले यसलाई टुँडिखेल मार्च भनेका छन् ।

आज दिउँसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल प्रवेश गर्ने बृहत नागरिक आन्दोलनको तयारी छ । नागरिक घोषणा सभाबाट विभिन्न विषय समेटिएको घोषणापत्र समेत जारी गरिने भएको छ । नागरिक अगुवा तथा पत्रकार नारायण वाग्लेले आजै तेस्रो जनआन्दोलन घोषणा हुने यसअघि नै बताएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि अहिले विभिन्न क्षेत्रमा आन्दोलन जारी रहेको छ । लेखक खगेन्द्र संग्रौला, नारायण वाग्ले, सम्पदा संरक्षणकर्मी आलोकसिद्धि तुलाधर, नेपालमान डंगोल, चेपाङ संघका जितेन्द्र चेपाङ, रिता शाहसहितका अभियन्ताले नागरिक सभालाई सम्बोधनको कार्यक्रम राखिएको छ ।