आज मन्त्रिपषिद् बिस्तारको तयारी

काठमाडौं । आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । प्रधानमन्त्री प्रचण्डले यसका लागि पार्टीहरुबाट मन्त्री बन्नेको नाम मागेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । यी मन्त्रालयहरु ३ माघको सहमतिअनुसार, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएका थिए । तर तीन वटै दलले पालैपालो सरकार छोडेपछि १५ माघदेखि जनमत पार्टीका एक र माओवादी केन्द्रका चार मन्त्री मात्रै सरकारमा छन् ।

आज बिहान फेरि सत्ता साझेदार दलहरुको बैठक बस्ने, सो बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन मन्त्रालय कसलाई दिने भनेर सुनाउने र आजै साँझ मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । सत्ता साझेदार दलहरुको बुधबार बसेको संयुक्त बैठकमा मन्त्रालय बाँडफाँट लगभग टुंगिएको नेताहरुले बताएका छन् । बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले बिहीबार साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

संयुक्त बैठकमा नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २–२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १–१ मन्त्रालय पाउने समझदारी बनेको नेताहरुले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।