आज मन्त्रिमण्डल बिस्तार गरि सपथ खुवाउने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् । बिहीबार सत्तारुढ दलहरुबीच भागबण्डाको अन्तिम सहमति जुटेसँगै आज उनले मन्त्रिपरिषद्लाई पूर्णता लिन लागेका हुन् । सत्ता गठबन्धनका दलले आजै मन्त्री बन्नेको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री बन्नेको नाम टुंगो लगाउन बाँकि छ ।

नेकपा माओवादी केन्द्रले बुधबारै मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ । सहमतिअनुसार सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने छ । कांग्रेसले यसअघि नै गृह, कानुन र परराष्ट्रय मन्त्रालय लिइसकेको छ ।

ऊर्जा र अर्थ मन्त्रालय लिइसकेको नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, शिक्षा विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने छ । माओवादीबाट अब सरकारमा देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बन्ने छन् ।

माओवादीका जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय पाएको छ ।