आज माओवादी स्थायी कमिटी बैठक, एमालेमा गएका नेताबारे निर्णय हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादीका दुई दर्जन नेतालाई एमालेमा विभिन्न जिम्मेवारी दिएसँगै ती नेताबारे माओवादी केन्द्रले आज निर्णय गर्ने भएको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र जनता समाजवादी पार्टी र नेपाली कांग्रेससँगको छलफलबारे समेत कुरा हुने भएको छ ।

आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा समेत तय गर्न सक्ने बताइएको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारका लागि बोलाइएको छ । स्थायी कमिटी बैठकले शुक्रबार नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका पार्टीका नेताहरुलाई कारवाहीका लागि केन्द्रीय समितिलाई सिफारिस गरेमा उनीहरुमाथि कारवाही हुने छ ।

माआवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा मन्त्री छन् । उनीहरुसहित २३ जनालाई प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।