आज रातीबाट पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रने

काठमाडौं । आज रातीबाट वर्षा हुने मौसमी प्रणाली सुदुरपश्चिम क्षेत्रबाट नेपाल प्रवेश गर्ने भएको छ । त्यसअगाडी दिनभर भने मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्नेछ ।

सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मंगलबार र बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ भने रातिसामान्य वर्षा र हिमपातको हुने सम्भावना छ ।