आज राष्ट्रिय सभा उपनिर्वाचन, बागमतीमा दुबै उमेदवार एमालेका

काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचन आज हुँदैछ । वागमती प्रदेशमा आज हुने उपनिर्वाचनमा दुबै उमेदवार नेकपा एमालेबाट उठेका छन् । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि आज उपनिर्वाचनको कार्यक्रम छ । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको तर्फबाट एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् ।

उनीहरुलाई नेमकिपाका कृष्णबहादुर तामाङले चूनौति दिँदैछन् । देवकोटा र बादल दुबै एमाले भएकाले एमालेको एकता प्रक्रियाका लागि समेत यो महत्वपूर्ण निर्वाचन मानिएको छ । बादल सूर्य निर्वाचन चिह्नबाट चुनाव लड्दैछन् । यो एमालेको चिन्ह हो देवकोटाले भने कलम चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् ।

देवकोटालाई कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल समूहले समर्थन गरेका छन् । उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । मकवानपुरको हेटौंडास्थित भुटनदेवी मावि निर्वाचन केन्द्रमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।