काठमाडौं । नेपाल, भारतसहित विश्वभर रहेको हिन्दु धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी मनाउँदैछ । भगवान श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व धुमधामसहित मनाइन्छ । सरकारले यस पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज धर्मावलम्बीहरु कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्छन् । व्रत बसी रातभर जाग्राम बस्छन् । जन्माष्टमीका दिन ललितपुरको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ ।
ललितपुर महानगरपालिकाका अनुसार यो वर्ष भने कोरोनाका कारण मन्दिरमा प्रवेश पाइने छैन । उता, काठमाडौंको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ मा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । कोरोना महामारीका कारण यो वर्ष कुनै पनि मन्दिरमा भिडभाडसहित दर्शन गर्न पाइने छैन ।
बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा समेत भक्तजन जम्मा भई पूजा आराधना गर्छन । घर घरमा बालबालिकालाई श्रीकृष्णको स्वरूपमा सिँगार्ने प्रचलन समेत रहेको छ । विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मान्यता छ सोहीकारण आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्ण सत्यका प्रतिक मानिन्छन् ।