आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुँदैछ । हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार सो कार्यक्रम हुन लागेको हो । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुख देवराज घिमिरेले आज (मंगलबार) का लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखेका हुन्

। संसद सचिवालयका अनुसार एक पटकमा १५ वटा प्रश्न सोध्न पाइने भएकाले सांसदहरुलाई वर्णानुक्रम अनुसार समूह–समूहमा बाँडिएको छ । यो पटक दोस्रो समूहको पालो परेको छ । समूहमा परेका सांसदहरुबाट शुक्रबार नै १२ वटा प्रश्न संकलन भइसकेको छ । त्यो प्रश्न संसद सचिवालयले प्रधानमन्त्री कार्यालय पुर्‍याएपछि प्रधानमन्त्रीले जवाफ तयार पार्ने छन्, जुन आज संसदमा प्रस्तुत हुन्छ । संसद बैठक विहान ११ बजे बोलाइएको छ ।