काठमाडौं । सर्वोच्च अदालतमा आज फुलकोर्ट बैठक बस्ने भएको छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने बारे निर्णय गर्न फुलकोर्ट बैठक लागेको बताइएको छ । बैठकले आगामी सातादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने तयारी समेत छ ।
अहिले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा आफैले पेसी तोक्दै आएका छन् । अघिल्लो बिहीबार बसेको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था गरेको हो ।
प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भागबण्डामासमेत मुछिएको लगायतका आरोप खेप्दै आएका छन् ।
जबरासँग असन्तुष्ट सर्वोच्चका न्यायायाधीशहरु र कानून व्यवसायीहरु उनीविरुद्ध उत्रिएका छन् । गोलाप्रक्रिया सुरु हुने भएपछि न्यायाधीशहरु नियमित इजलासमा फर्किए पनि जबराको नेतृत्व भने नस्वीकार्ने भएका हुन् ।