काठमाडौं । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा आज आम हडताल भएको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै सङ्घर्ष समितिले हडताल गरेको हो । हडतालको धेरै प्रभाव कैलालीमा देखिएको छ ।
कैलालीमा शैक्षिक संस्था आंशिक मात्रै खुलेका छन् भने लामो दूरीका गाडी छुटेका छैनन् । पहाडी जिल्लामा आम हडतालको असर कम परेको छ । बिहानैदेखि केही चोकमा आन्दोलनकारीको उपस्थिति रहेको र प्रहरी पनि परिचालन गरिएको छ । लामो दूरीका गाडी सुदूरपश्चिममा भित्रिए पनि छुट्न भने नपाएको प्रहरीको भनाई छ ।