आज ७१ औं प्रजातन्त्र दिवस, करीव ६ सय कैदीबन्दीलाई आममाफी

Photo courtesy: Prime Minister's Secretariat

काठमाडौं । नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस मनाइँदै छ। २००७ सालको क्रान्ति सफल भएसँगै १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज कै दिन हरेक वर्ष प्रजातन्त्र दिवस मनाउन थालिएको हो । आज प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह संचालन हुन्छ ।

कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारी सहभागी हुने प्रचलन रहेको छ । आजै बिहान नेपाली नेपाली सेनाले ६ः२९ मा तोप सलामी र बिगुल बजाएर बढाइँ गरेको छ । जनताको क्रान्तीबाट सफलता प्राप्त भई जनताको शासनमाथि पकड भएको दिनका रुपमा यो दिनको महत्व ठूलो रहेको छ ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देश अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा छ । जहाँ अब मुलुकको सर्वोच्च पदमा जनताकै छोराछोरी पुग्ने सक्छन् । यो दिनको उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित सबै दलका शीर्ष नेताले शुभकामना व्यक्त गरेका छन् ।

यता, सरकारको सिफारिसमा राष्ट्रपतिबाट करीव ६ सय कैदीबन्दीलाई समेत आजकै दिन आम माफी दिने निर्णय भएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाए अनुसार ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको छ । आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १७९ कैदीको भुक्तान हुन बाँकी कैद समेत छुट दिइएको छ । उता, १५ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको छ ।