नयाँ दिल्ली । भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएकी छन् । उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्तिसमेत बनेकी छिन् । ६४ वर्षीया मुर्मू उडिसामा जन्मिएकी हुन् । उनी सन्थाल समुदायकी नेतृ हुन्। राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको थियो। त्यसको बिहीवार साँझ आएको नतिजाबाट उनी राष्ट्रपति बनेकी हुन् । उनले आगामी सोमवार पद तथा गोपनीयताको शपथ लिनेछिन् ।
राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गर्छन् । उनलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो। मुर्मू यसअघि उनी झारखण्डकी राज्यपाल थिइन्। मुर्मू रामनाथ कोविन्दको उत्तराधिकारी हुनेछिन्। कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ।
उनी भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन्। सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन्। भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि उनीसँग कार्यकारी शक्ति हुँदैन। राष्ट्रप्रमुख चयनको प्रतिस्पर्धामा मुर्मूले विपक्षी उम्मेदवारका रूपमा रहेका अनुभवी नेता तथा यशवन्त सिन्हालाई पराजित गरेकी हुन्। सिन्हा पहिला भाजपामै थिए।
सन् १९९० को दशकमा सन् २००० को दशकको सुरुतिर प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको भाजपा सरकारमा सिन्हा वरिष्ठ मन्त्री थिए। भारतका विभिन्न राज्यमा बाहेक बाङ्ग्लादेशको उत्तरी भेग र पूर्वी नेपालको तराईमा सन्थाल समुदायको बसोबास छ।