२ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा नयाँ चरणबाट सक्रिय हुने प्रक्रियामा प्रवेश गरेको बताएका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक घोषणा गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कांग्रेस नवीन कांग्रेस बन्ने बाटोमा प्रवेश गरेको बताएका हुन् ।
‘जे भएको छ यसलाई नवीन नेपालका लागि नवीन कांग्रेस भन्ने रुपमा लिनुपर्छ । कसले नेपाली कांग्रेसको नाम चुनावचिह्न लिने भन्ने दाबीहरू पनि भए ।आयोगले गर्ने निर्णय विशेष महाधिवेशनको पक्षमा गयो भने आन्दोलन गर्ने भन्ने कुराहरू पनि सुनियो,’ उनले भने, ‘पार्टीका सबै श्रद्धय अग्रजलाई नम्र अनुरोध गर्छु( अब हामी पुराना आवेगका कुरालाई बिर्सिनुपर्छ । एक भएर उभिनुपर्छ ।’
उनले अब चुनावको तयारी जुट्न सबैलाई आग्रह पनि गरे । ‘माघ ६ गते उम्मेदवारी गर्नुछ । गगन थापा नेतृत्वको कांग्रेसले उम्मेदवारी छनोट गर्दैछ । साथीहरूले लिस्टिङ गर्दै हुनुहुन्छ । भोलि हामी बैठक बस्दा त्यसलाई हेरेर पार्टीको कामको गतिलाई अघि बढाउँछौँ,’ उनले भने, ‘विशेष महाधिवेशनलगत्तै नेपाली कांग्रेस परिचालन समिति, घोषणा पत्र समिति, संसदीय बोर्डको बारेमा निर्णय भइसकेको छ । अध्यावधिकको काम पनि आज सकिएको छ ।’
उनले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेबीच दरार रहननहुने पनि बताए । ‘विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने या नगर्नेबीचमा केही दरार रहँदैन । विधि र विधानको जगमा कांग्रेसलाई अघि बढाउनुपर्छ,’ उनले भने, ‘प्रश्न वैशाखसम्म महाधिवेशन पर्खिने भन्ने थिएन । चुनावअघि बदलिएर जाने कि नजाने भन्ने थियो । विशेष महाधवेशनले टुंगोमा पुर्यायो । यसलाई आवेगको विषय नबनाइ अघि बढ्न आह्वान गर्दछु ।’