आधुनिक चिकित्सा प्रणालीको आलोचना गरेपछि भारतमा रामदेवको व्यापक विरोध

Photo : the hindu

नयाँ दिल्ली । योगगुरु रामदेव भारतका ठूला व्यापारी पनि हुन् । उनले परम्परागत चिकित्सा प्रणालीको वकालत गर्छन् र त्यसलाई व्यापारको माध्यम बनाउँछन, सोहीमार्फत व्यापारमा राज गरिरहेका उनी पुनः एक पटक नराम्रोसँग फसेका छन् । आधुनिक चिकित्साप्रति योगगुरु बाबा रामदेवले दिएको विवादास्पद अभिव्यक्तिकै कारण उनी विवादित बनेका हुन् ।

उनको भारतका चिकित्सकले कडा विरोध गरेका छन् । उनले हालै आधुनिक औषधोपचारपछि दशौँ हजार मानिसको कोभिडका कारण मृत्यु भएको अभिव्यक्ति दिएका थिए । उनले अक्सिजन सिलिन्डर लिन कोसिस गरिरहेका बिरामीहरूलाई गिज्याएको बीबीसीले लेखेको छ । अन्ततः केन्द्रिय स्वास्थ्यमन्त्रीले समेत उनको आलोचना गरेपछि भने रामदेवले आफ्नो भनाइ फिर्ता लिएका छन्।

आफ्नो भनाई फिर्ता लिएका उनले आधुनिक चिकित्सा प्रणालीको आलोचना गर्न भने छाडेका छैनन् । सोमवार उनले केही रोगहरूको उपचार आधुनिक चिकित्साले गर्न नसक्ने बताए । एलोप्याथी चिकित्सकहरूको प्रतिनिधित्व गर्ने इन्डियन मेडिकल एसोसिएसन आईएमएले रामदेवको आलोचना गर्दै उनको अभिव्यक्तिलाई महामारीको मध्यमा गरिएको असंवेदनशील कार्य भनेको बीबीसीमा उल्लेख छ ।

त्यसो त उनले पटक पटक आधुनिक प्रणालीबारे आलोचना गर्दै आफ्नो उत्पादनको प्रचार गरिरहेका छन् ।