सर्लाही । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा आफुमाथि कुनै तलमाथि भए अचम्म नमाने हुन्छ भनेर दिएको अभिव्यक्तिको अहिले सर्वत्र आलोचना भइरहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै ज्यानको सुरक्षा गर्न नसक्ने प्रधानमन्त्रीबाट जनताको रक्षा हुन नसक्ने बताएका छन् । उनले यस्ता प्रधानमन्त्रीलाई ‘लुते’ भनिने समेत उल्लेख गरे ।
मंगलबार सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गरेका नेता गगनले भने, ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान कसरी जोगाउँछ ?’ उनले यस्तो लुते प्रधानमन्त्री नचाहिने समेत उल्लेख गरे ।
बालुवाटारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा रहँदा त डराउने प्रधानमन्त्रीले अरुको ज्यानको रक्षा गर्न नसक्ने उल्लेख गरे । अहिलेका प्रधानमन्त्रीसँग अब कुनै अपेक्षा बाँकी नरहेको भन्दै उनले दिनभित्र बिदाइ गर्ने अभिभारा पूरा गर्नुपर्ने समेत उल्लेख गरे ।