आफ्नै दाजुका छोराबाट प्यूठानमा दम्पत्तिको विभत्स हत्या

काठमाडौं । माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियार पक्राउ परेका छन् । पङ्कज मृतकका दाजुका छोार हुन् । उनले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको प्रहरीले बताएको छ । घटनाको जानकारी समेत स्वयमः अभियुक्तले प्रहरीमा गएको समेत खुलेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपेश बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । डिएसपी बस्यालका अनुसार रिसको झोँकमा घन प्रहार गरी आफ्ना काका र काकीको हत्या गरेको पङ्कजले प्रहरीलाई बयान दिएका छन्।

युवकले हत्या गरेको स्वीकारेका छन्, डिएसपी बस्यालले भने, प्रहरीसँग सोधपुछका क्रममा पङ्कजले , “सधैँ गाली गर्थे, हेप्थे, थारो भन्थे, सहन सकिनँ घनले हानेर भनी स्वीकार गरेका छन् । एक हप्ताअघि रामबहादुरले पङ्कजलाई ‘स्वास्नी पाउन नसकेको थारो’ भन्दै गाली गरेका थिए । यस घटनाले पङ्कजको मनमा घृणा र आक्रोश सिर्जना गरेको थियो। शनिवार राति रक्सी सेवन गरी, पङ्कजले घरको दोस्रो तलाबाट प्रवेश गरेका थिए। सुतिरहेका दम्पतीलाई देखेपछि उनले घन उठाएर तीन तीन पटक टाउकोमा प्रहार गरेका थिए ।

प्रहरीले घटनास्थलबाट ५० मिटर परको बारीबाट रगतले लतपतिएको घन र मृतकहरूको रगत पुछेको व्लाङ्केट वरामत गरेको छ । डिएसपी बस्यालले हत्याको सूचना दिने पहिलो व्यक्ति नै पङ्कज भएको समेत जानकारी दिए । उनले भने, ‘जसले हामीलाई सबैभन्दा पहिला घटना शङ्कास्पद छ भनेर सूचना दिएको थियो, उसैले दम्पतीको हत्या गरेको खुल्यो ।’