आयोगको अनुमति बीना मन्त्रीहरु चुनाव प्रचारमा जान नपाउने

काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । बिहीबार भएको आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो ।

छलफलमा सुरक्षा निकायका अधिकारीहरुले उच्चपदस्थ सरकारी अधिकारीहरुलाई कार्यक्रममा सहभागी हुन बन्देज लगाउन कठिन हुने धारणा राखेका थिए । तर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै उम्मेदवारलाई समान व्यवहार गर्नुपर्ने भन्दै आचारसंहिता उल्लंघन हुने गतिविधि भए मौन नबस्न निर्देशन दिएका हुन् ।

‘मन्त्री, मुख्यमन्त्री वा स्थानीय तहका जनप्रतिनिधि जो कोही आउनुभयो भने पनि निर्वाचन आयोगको अनुमतिपत्र छ भनी सोध्नुहोला भनी निर्देशन दिएका हौं’, प्रमुख आयुक्त थपलियाले अनलाइनखबरसँग भने, ‘आयोगको अनुमति छैन भने उहाँहरुलाई ससम्मान सलाम ठोक्नुहोस्, अनि नियन्त्रणमा लिएर आयोगलाई खबर गर्नुहोस् । बाँकी प्रक्रिया हामी अघि बढाउछौं भनेका छौं ।’ यसबारे गृहसचिवलाई समेत बोलाएर सबै सुरक्षा निकायलाई सर्कुलर गर्नु भनी निर्देशन दिएको उनले बताए ।