काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज बुझाउँदैछ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपतिलाई बिहीबार प्रतिवेदन बुझाउँदैछन् । निर्वाचनको अन्तिम मतपरिणाम आएको एक साताभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने प्रावधान रहेको छ । तर आयोगले अन्तिम मतपरिणाम बुधबार नै सार्वजनिक गरेको थियो ।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा बुधबार गरेको थियो। निर्वाचित सांसदको सूची नेपाल राजपत्रमा पनि प्रकाशित गरिने छ । आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई पनि निर्वाचन मतपरिणामको प्रतिवेदन बुझाउने छ । आयोगबाट प्रतिवेदन बुझेपछि नयाँ सरकार गठनको बाटो खेल्नेछ ।
केही दिनमा राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्न सक्छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बन्ने सम्भावना छ। दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने सम्भावना छ। २७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन १३८ जना सांसदले समर्थन गर्नुपर्छ ।